नेपाल हिमालयन लिटरेचर फेस्टिभल सम्पन्न

काठमाडौँ। ‘नेपाल हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स वर्कसप २०२६’ काठमाडौँमा सम्पन्न भएको छ । साहित्यिक संवाद, सांस्कृतिक आदानप्रदान, कार्यशाला, कविता वाचन, चलचित्र प्रदर्शन तथा समुदायमुखी कार्यक्रम आयोजना गर्दै महोत्सव सम्पन्न भएको हो । महोत्सवले नेपालसहित विश्वका विभिन्न देशका लेखक, कवि, विद्वान्, अनुवादक, चलचित्रकर्मी, शिक्षक तथा विद्यार्थीलाई एकै मञ्चमा ल्याएको छ ।

काठमाडौँ उपत्यकाका विभिन्न सांस्कृतिक स्थलमा आयोजित महोत्सवमा पुलित्जर पुरस्कार विजेता कवि ट्रेसी के स्मिथ र पल मल्डुन, ब्रुकलिन पोएट लरेट टिना चाङ, दी आयरिस टाइम्सका पुस्तक सम्पादक मार्टिन डोयल, प्रख्यात कवि तथा अनुवादक टोनी बार्नस्टोन, चर्चित उपन्यासकार जीन ह्यान्फ कोरेलिट्ज तथा हिमाली कवि युयुत्सु शर्मासहित एसिया, युरोप, उत्तर अमेरिका, अफ्रिका र अस्ट्रेलियाका ७५ भन्दा बढी लेखक, कलाकार, विद्वान् तथा सांस्कृतिककर्मीको सहभागिता थियो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले साहित्य, सांस्कृतिक संवाद र अन्तर्राष्ट्रिय सहकार्य आपसी समझदारी, सिर्जनशीलता तथा विश्वनागरिकताको भावना प्रवर्धन गर्ने महत्त्वपूर्ण माध्यम भएको बताउनुभयो । नेपालका लागि बेलायती राजदूत रब फेनले महोत्सवले साहित्यको नवीनतम विमर्श आरम्भ गरेको उल्लेख गर्नुभयो ।

‘नयाँ विश्व व्यवस्थामा उन्माद, उपचार र सिर्जनात्मक लेखन’ भन्ने मूल विषयमा केन्द्रित महोत्सवमा साहित्य, कला, अध्यात्म तथा चिन्तनशील परम्पराको रूपान्तरणकारी शक्तिमाथि विमर्श गरिएको थियो । सहभागीले मास्टरक्लास, सिर्जनात्मक लेखन कार्यशाला, प्यानल छलफल, कविता वाचन, सांस्कृतिक प्रस्तुति तथा काठमाडौँ दरबार क्षेत्र, पाटन, बौद्धनाथ, बुढानीलकण्ठ र नगरकोटको सांस्कृतिक भ्रमण गरेका थिए ।

साहित्य, कविता र चलचित्रबिच्छको अन्तरसम्बन्धलाई समर्पित यो नेपालकै पहिलो अन्तर्राष्ट्रिय कविता चलचित्र महोत्सव (पोएट्री फिल्म फेस्टिभल) हो । यस पहलले साहित्यिक कल्पनालाई दृश्य माध्यममार्फत नयाँ अभिव्यक्ति प्रदान गर्दै अन्तरविषयक संवादका लागि नयाँ सम्भावना सिर्जना गरेको छ । महोत्सवका संस्थापक तथा निर्देशक युयुत्सु शर्माले कविता र चलचित्र दुवैले दृश्य, लय र कल्पनाको साझा भाषा बोल्ने बताउनुभयो । उहाँले कविता चलचित्र महोत्सवमार्फत साहित्यले पृष्ठको सीमा पार गर्दै पर्दामा नयाँ जीवन प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्यानल छलफलमा चलचित्रकर्मी पिटर सालिस्बरी, कारोला मायर तथा इन्स्टिटुटो सर्भान्तेसकी निर्देशक मारिया गिल बर्मान सहभागी हुनुहुन्थ्यो । सो अवसरमा अकीरा कुरोसावा, लुइस बुनुएल, जोन बुरम्यान, जाँल्युक गोदार, फ्राँस्वा त्रुफो, आन्द्रेज वायदा, वोइचेख हास र क्रिस्टोफ किस्लोभ्स्की जस्ता विश्वप्रसिद्ध निर्देशकको प्रभावबारे पनि चर्चा गरिएको थियो । अन्तर्राष्ट्रिय चलचित्र कार्यक्रमअन्तर्गत स्पेन, पोर्चुगल, अस्ट्रिया, पोल्यान्ड, आयरल्यान्ड तथा मेक्सिकोका साहित्य र कविताबाट प्रेरित चलचित्र प्रदर्शन गरिएका थिए । पोलिस इन्स्टिच्युट नयाँदिल्ली, इन्स्टिटुटो सर्भान्तेस, पोर्चुगल दूतावास, अस्ट्रियन कल्चरल फोरम लगायतका संस्थाहरूको सहकार्यमा यी चलचित्र प्रदर्शन गरिएका हुन् ।

विशेष सम्मान समारोहमा नेपालका लागि पोल्यान्ड गणतन्त्रका मानार्थ महावाणिज्यदूत लोकमान्य गोल्छालाई नेपाल र पोल्यान्डबिचको सांस्कृतिक सम्बन्ध तथा मित्रता सुदृढ बनाउन पुर्‍याएको योगदानका लागि सम्मानित गरिएको थियो ।

महोत्सवमा कथाकार गुरुप्रसाद मैनालीको साहित्यिक विरासतको विशेष स्मरण गरिनुका साथै कृत्रिम बुद्धिमत्ता (एआई) र सिर्जनात्मक लेखन, संस्मरण, अनुवाद, आघात र उपचार, आदिवासी साहित्य तथा समकालीन विश्व कवितासम्बन्धी विविध विषयमा छलफल भएको थियो । नेपाली, नेपाल भाषा, मैथिली, भोजपुरी, थारू, उर्दू, हिन्दी तथा अङ्ग्रेजी भाषामा आयोजित कविता वाचनले हिमाली क्षेत्रको भाषिक विविधतालाई उजागर गरेको निर्देशक शर्माले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×