-तेजेश्वरबाबु ग्वंगः
घाम अस्ताएको थिएन तर सूर्य देखिँदैनथ्यो । घना बादलको दल भौँतारिरहेको देखिन्थ्यो । भित्र कोठाबाट कहालीलाग्दो स्वर सुनिन्थ्यो बिच बिचमा । स्वरको चढाव मच्चिँदै गइरहेथ्यो । ऐय्या… ऐय्याया… उहु… उहुहुहु… मरेँ… मरेँ… बाबा… मरेँ । भएन… भएन… लौ न नि लौ न… ऐय्या… ऐय्याया… उहु… उहुहुहु… । निरन्तर उत्पीडनको झोका मच्चिरहेको थियो । मानौँ जीवन भयङ्कर प्रसवले थिचिइरहेको थियो ।
ऊ सुक्दै थियो, झुरिँदै थियो । सानु फिलिङ्गो मात्र चाहिन्थ्यो; भस्माभूत हुनका लागि । जिउमा पानीको कणसम्म निख्रिसकेको थियो । जीवन एउटा पतकर बन्यो, जिउ एक खँगारिएको मुढो झैँ रहेको थियो ।
त्यो घडी हर्षबहादुरलाई जीवनको सुखको सार लागेन । जिन्दगी एक कहालीलाग्दो विवशता बन्यो । छटपटी असह्य थियो । ऊ आफूभित्रै छटपटिरहेको थियो । ऊ आफूलाई निरर्थक ठानिरहेथ्यो । न आफ्नै जलनलाई सम्याउन सक्यो उसले न त कसैको पीडाहरण नै गर्न सक्थ्यो । छटपटीमा किंकर्तव्यविमूढ हुने साधारण मानिसको स्वभाव उसमा अवतरित थियो ।
दम्भ र घमण्डमाथिको आस्था चकनाचुर हुँदै गयो । याँ गरेँ, त्याँ गरेँ, यसो गरूँला, उसो गरूँलाको दम्भ ऐन मौकामा भस्म भएको नकचरो जीवनप्रति अनास्था हर्षबहादुरको मनमा उठ्यो । उत्पीडनमा पनि सुकेको रुख झैँ ठिङ्ग्रिङ्ङ उभिने जीवन के जीवन ? कहालीमा पनि केही गर्न नसक्ने जिन्दगी के जिन्दगी ? जिन्दगी एउटा तमासा थिएन, जीवन तमासा भइरह्यो । सहयोग जीवन थियो, जिन्दगी सहयोग भएन तर भयङ्कर उत्पीडनबाट निस्केको उहुँ… उहुहुहु…. ऐय्या… ऐय्याया… मरेँ… मरेँ बाबा मरेँ… भएन… भएन… लौ न… लौ न नि… ऐय्या मा… स्वर सहयोगको नारासित टक्कराइरहेकै थियो ।
ऊ बढीभन्दा बढी अनुभव गर्न चाहन्थ्यो । किनकि अनुभूति जीवन हो । उत्पीडनको अवस्थामा ऊ आफूलाई सहयोगी अनुभव गराउन चाहन्थ्यो । आफ्नो अवस्थितिबाट उत्पीडन शान्त भएको अनुभूति लिन उत्कट अभिलाषा उसको थियो तर अनुभूति एकहोरो रह्यो, दोहोरो हुन सकेन । एकहोरो अनुभूति ऊ खल्लो अनुभव गरिरहेको थियो । अनुभव गर्ने लहडमै उसले मुटु गाँसेको र अनुभवकै गोरेटो लाग्दा ऊ स्वयम् अनुमानबाट श्रीमान् बनेको कुरा ऊ मनमै गुन्दै थियो । अनुभूति चाख्दाचाख्दै श्रीमान्बाट ऊ बुवा भयो, अनुभवको दौरानमा के के भइन्छ अरू भने थाहा छैन उसलाई ।
प्रवेश निमित्त अनुमति चाहिन्थ्यो । अनुमति पाउनु सजिलो थिएन । अनुमतिबिना प्रवेश निषेध । निषेधाज्ञा उल्लङ्घन अशोभनीय हुन्छ । बेथा वेदनाको आर्तनाद सह्य थिएन । ऊ विह्वल थियो । विदीर्ण भइरहेको थियो ऊ । विह्वलताले पनि मानिसलाई दुस्साहसतिर धकेल्दो रहेछ । उसले चार पाइला जति अगाडि सा¥यो । ढोकैमा पुगिसकेको थियो ऊ । जिम्मेवारीको भावनाले उसलाई सतर्क गराएछ क्यार, पाइला स्तब्ध रह्यो ।
ढोका जो खोलिनु पथ्र्यो, नखोलीकनै देखिने पाएछ उसले । आँखा जो खोलिनु पथ्र्यो, ढोका जस्तै पाएछ उसले । ढोका जहाँबाट मानिस आउनेजाने गर्छन्, आँखा झैँ उसलाई लाग्न थालेछ । हिँडाउन सक्नुपर्दो रहेछ, आँखाले पनि ओहोरदोहोर गर्छ । खोल्न सक्नुपर्दो रहेछ, ढोकाले पनि आँखाको काम गरिदिन्छ; उसले मनमनै भन्यो । ढोकोको माथिल्लो खण्डका दुवैतिर ऐना लगाएको थियो । बेथा वेदनाको मार्मिक अवस्थालाई ऐनाले हर्षबहादुरको आँखासम्म पु¥याइरहेको थियो ।
भयङ्कर छटपटी त्यसबेलाको गति थियो । नारीत्व र मातृत्वको दोसाँधमा जीवन च्यापिएर कहाली लागेको थियो । होस बेहोसमा उडिरहेको थियो, बेहोसमा होस छटपटाइरहेको थियो । वेदना नै वेदनामा नारीत्व छताछुल्ल भइरहेको थियो । कोखबाट जिन्दगी छुट्नुको अवस्था जीवनबाटै जिन्दगी उड्नु बराबर हुँदो रहेछ । नारीको बीभत्सताको त्यो अवस्था चिच्याहटपूर्ण थियो । रोइकराइमा पनि आँसु नझर्ने अवस्था त्यो, हर्षबहादुर झैँ सहृदय आत्माका लागि विदारक रहनु अस्वाभाविक थिएन । मखमल झैँ सुकोमल नारी ढुङ्गो झैँ साह्रो वेदनामा व्यवधान हुनु विधिकै विधान रहेछ । अर्धशरीरलाई उचाल्दै पछार्दै गरेकी नारीको जीवनको अवस्था नसोचे बराबर बीभत्स देखिन्थ्यो । शिरका साथै छातीसम्म उठाउँदै आफ्नै शरीरको उँधो भाग चिच्याउनु प्रसव वेदनाकालको नारीचर्या अनौठो हुन्छ । अर्धशरीर उठाउँदै उँधो भाग च्याउँदै गर्दा प्रसूति निमित्त बल पुग्दो प्रकृतिको प्रबन्धप्रति हर्षबहादुर तीनछक्क परी सोचिरहेको थियो ।
कति शर्मिली नारी जीवन, कति लज्जावती ! जीवन नै शरमको पोको झैँ अति लज्जालु अनुभव हुन्थ्यो । त्यसबेला नारी जीवन निर्लज्जताको प्रतीक बन्यो । अर्धनग्नता आकर्षण थिएन, विकर्षण मात्र । नारीमा बीभत्सताले बास बसेको त्यसबेला पुरुषको मुटुमा भुइँचालो गइरहेको हुन्छ । यतिन्जेल नै फेरि पुरुष आफूभित्रै असमर्थ बनिरहेको हुन्छ– किंकर्तव्यविमूढ । त्यस अवस्थाको पुरुष जाति झन्डै एउटा दल दल जस्तो हुन्छ– पाइला हाल्नेबित्तिकै भासिने धाप । उसले लाख प्रयत्न गर्दा पनि लाज छोप्न सक्दैन त्यसबेला । त्यसबेला त्यस्तो लाज छोप्ने होइन, उदाङ्गिने आफूलाई बिर्सेर । बेथा वेदनाले विह्वल र व्यथित नारी लाजको सीमालाई तोडिरहेकी हुन्थिन्– बेहोस भएर । लाजको भाँडाको र विवेकको बिर्कोको ध्यान बेथा वेदनामा बिर्सिंदो रहेछ भन्ने कुरा हर्षबहादुर अनुभव गरिरहेको थियो ।
एउटी डाक्टर ‘इपिसोटोमी’ अपरेसन गरिरहेकी थिइन् । एउटा डाक्टर पेट थिचिरहेका थिए । थिच्दै, चिर्दै बच्चा पैदा गराउनु डाक्टरको पेसा थियो । फोर सेपको सहाराले बच्चा पैदा हुन्छ । बालक रगताम्मे थियो । ढोकाको ऐनाबाट भित्रको दृश्य च्याइरहेको थियो हर्षबहादुर । डाक्टर र हर्षबहादुरको आँखा चार भए । सरक्क पर्दा तानेर चोर आँखामाथि ढकनी हालिदिए डाक्टरले ।
प्रजनन कोठाबाहिर च्याउँदै हर्षबहादुर चोर आँखाले हेर्दै थियो– पर्दाभित्रको लीला । मनमाया, जोगमाया र कृष्णमाया खडा थिइन् उनकै नजिक । डाक्टरले पर्दा छोपे पनि अनायास बोली फुस्क्यो, “च च च च… बच्चा त मरेछ, बाबै बच्चा ।”
“हरे शिव, हरे… के भएको, बाबै,” जोगमाया कराइन् । “होइन होला बाबु, होइन होला,” मनमाया दिदीले ढाडस दिनुभयो । “ल म झुटो बोल्छु र भन्या, आँखैले देख्या, बच्चाको जिउभरि रगतैरगत थियो । काखी मुनितिर प्वाल परे झैँ एक चक्लै रगताम्मे थियो,” हर्षबहादुरले हठात्मा भने ।
“हो र बाबु ? तिमीलाई थाहा छैन यी कुरा,” मनमाया दिदीले दोहो¥याउनुभयो । “ए, बच्चाको रुवाइ त सुनियो,” दिदीले फेरि भन्नुभयो । “हो र ?” फेरि रुवाइ सुनियो बच्चाको । “हो, हो, भाइ हो, बच्चा रोएकै हो भित्र ।” त्यतिन्जेल उहाँ आफैँले सुस्तरी ढोका यसो तानी च्याउनुभयो । “अहो कत्रो बच्चा, लौ हेर हेर कपाल पनि कति लामा लामा छन्, छोरी पो हुन् क्यार !” नारी दृष्टिकोण बोक्दै एकै पटक तीन स्वर निस्क्यो । घना बादलका दलबाट सूर्य अनायास उघ्रिए झैँ भयो हर्षबहादुरलाई ।
घन्टौँ मच्चिरहेको कहालीलाग्दो स्वर ठप्प भइसक्या थियो । उत्पीडित स्वरको साटो अब डाक्टर र नर्सको मिश्रित स्वर सुनिन थाल्यो । आफ्नो जिम्मेवारी पूरा गर्न सफल भएका डाक्टरहरू ठट्याउला प्रश्न गर्न थालिरहेका थिए रामकलासित । “के पाइएछ क्यार डार्साब ?” कता कता दुर्बल स्वर सुनियो । “भन्नुस् तपाईंलाई के मन पर्छ ? हामी तपाईंलाई मन परेको दिउँला ।”
“मैले जे पाएँ त्यही नै मन पर्छ,” फेरि उही कमजोर स्वर सुनियो ।
“छोरो मन पर्दैन ?” डाक्टरले ठट्यौलो पारामा सोधे ।
“छोरी भए हुन्थ्यो ।”
“लौ उहाँलाई छोरी मन परे छोरी नै दिउँला, कसो ?” डाक्टर र नर्सहरू हलल्ल हाँसे ।
लुसुक्क डाक्टर साब बाहिर निस्कनुभयो, मुस्कुराउँदै । “लौ, तपाईंलाई बधाई छ, छोरी भएछ,” हर्षबहादुरको कानमा डाक्टरले सुटुक्क फुक्नुभयो, “राम्रै भयो । एउटा छोरो, एउटी छोरी । सानु परिवार सुखी परिवार ।”
“अँ, सानु परिवार, सुखी परिवार– एउटा छोरा एउटा छोरी । पुग्यो, अब पुग्यो डाक्टर साब, यहीबेला स्थायी परिवार नियोजनको प्रक्रिया अपनाउन हुन्न र ?” हर्षबहादुरले आफ्नो जिज्ञासा जाहेर गरे । “तपाईकी पत्नीको पनि त स्वीकृति लिनु पर्ला नि, पर्दैन र ? त्यो त भइजान्छ पछि पनि,” डाक्टरले सान्त्वना दिँदै भने ।
वरपर कोही आमा हुने र कोही आमा भइसकेका महिला लम्पसार थिए खाट खाटमा । आमा हुनेले तीन त्रिभुवन देखिसकेका थिए । आमा बन्ने कोठाको सँघार टेकिरहेका महिलाको रूपरङ र होसहवास चकनाचुर हुँदै थियो । दुई/तिन दिनका बासी आमाहरू खितिती हाँसी हर्षबहादुरको उपस्थितिमाथि व्यङ्ग्य गरिरहेका थिए । मातृत्वको सँघार नटेकेका तर टेक्न आएका गणपति नारी पनि हर्षबहादुरप्रति पेचिलो खितखित मच्चाउँदै थिए बिस्तारै ।
हर्षबहादुर आफैँसित बोलिरहेको थियो । नारीको जीवन सिपाहीको जीवनभन्दा कम खतरापूर्ण छैन । सिपाही त युद्धमा मर्छ एकै हनाइमा । सुइक्क आयो गोली, लाग्यो गोली– प्राण विसर्जन तर नारीको जीवनमा कति लाग्छ गोली कति ? प्रत्येक प्रसवकालले एउटा मृत्यु नारीको थाप्लोमा कसिदिएको हुँदो रहेछ । तैपनि दुनियाँमा कोही असम्भार प्राणी छन् भने नारी नै छन् । कहिल्यै नचेत्ने प्राणीको पहिलो दर्जामा पनि विशिष्ट दर्जामा पुगेकी नारी नै रहेको कुरा हर्षबहादुर आफैँसित निर्णय माग्दै अस्पतालको प्रसूति कोठामा एकटक उभिइरहँदा पनि उसको कानमा गुन्जिरहे झैँ लाग्थ्यो । नेपथ्यमा उही स्वरलहरी ऐय्या… ऐय्याया… ऐय्याया… मरेँ… मरेँ बाबा… मरेँ… भएन… लौ न नि… ऐय्याया… ।

