महिला एसियन कप : बङ्गलादेश र भारत कठिन समूहमा

काठमाडौँ । दक्षिण एसियाबाट एएफसी महिला एसियन कप–२०२६ को ढोका खोलेका बङ्गलादेश र भारत कठिन समूहमा परेका छन् ।

मलेसियास्थित एसियन फुटबल महासङ्घ (एएफसी) को मुख्यालयमा मङ्गलबार गरिएको समूह विभाजनमा बङ्गलादेश समूह ‘बी’ र भारत समूह ‘सी’ मा परेको छ ।

बङ्गलादेशको समूहमा साविक विजेता चीन, उत्तर कोरिया र उज्वेकिस्तान रहेको छ । चीन र उत्तर कोरिया बलिया टोली हुन् । चीनले सन् २०२२ मा भारतमा भएको पछिल्लो संस्करणमा दक्षिण कोरियालाई ३–२ गोलले हराउँदै नवौँ पटक उपाधि जितेको थियो ।

यस्तै उत्तर कोरिया सन् २००१, २००३ र २००८ मा च्याम्पियन बनेको थियो । उज्वेकिस्तानले चार पटक भाग लिई सकेको छ भने एसियन कप बङ्गलादेशको डेब्यु प्रतियोगिता हो ।

यस्तै भारत रहेको समूह ‘सी’ मा जापान, भियतनाम र चाइनिज ताइपेई रहेको छ । जापान दुई र चाइनिज ताइपेई तीन पटकको च्याम्पियन टोली हो ।

हालै उज्वेकिस्तानमा सम्पन्न एसियन कप छनोट खेलमा नेपाल छनोट चरणको अन्तिम खेलमा घरेलु टोली उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित हुँदै बाहिरिएको थियो ।

उज्वेकिस्तानसँगको अन्तिम हारले नेपालको एसियन कपसँगै फिफा महिला विश्वकप छनोट–२०२७ र लस एन्जलस ओलम्पिक–२०२८ को छनोट यात्रा पनि गुमेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×