सेनाको सुरक्षाबाट बाहिरिएका एमाले अध्यक्ष ओली गुण्डुस्थित भाडाको घरमा

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सेनाको सुरक्षाबाट बाहिरिएका छन् ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ओली आज सेनाको सुरक्षाबाट बाहिरिएको जानकारी दिए ।

ज्ञवालीका अनुसार अध्यक्ष ओली भक्तपुरस्थित पार्टी कार्यकर्ताको घरमा पुगेका छन् ।

भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालयसहित देशका प्रमुख संरचना जलाएका थिए।

निवर्तमान प्रधानमन्त्री ओलीले भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

ओली आजदेखि सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित एक भाडाको घरमा सरेका हुन् । उनको बालकोटस्थित निवास जेनजी प्रदर्शनका क्रममा आगजनी भएको थियो ।

गुन्डुस्थित निवासमा आज अध्यक्ष ओलीसँग पार्टीका महासचिव शङ्कर पोखरेल, नेता भानुभक्त ढकाल, महेश बस्नेत, एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजालगायतले भेट गरेका थिए ।

एमालेले संविधान दिवसका अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गर्ने कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×