रातभरिमा सहमतिको विन्दुमा पुग्छौँः कांग्रेस नेता घिमिरे

काठमाडौँ । नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले पार्टीमा पछिल्लो समय देखिएको विवाद समाधानका लागि नेताहरूबीच छलफल र वार्ता सकारात्मक रूपमा अघि बढेको बताउनुभएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुनुअघि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले पार्टीका नेताबीच विवाद समाधानका लागि छलफल जारी रहेको जानकारी दिनुभयो। पार्टीको निवर्तमान प्रमुख सचेतकसमेत रहेका घिमिरेले भन्नुभयो, “वार्ता चलिरहेको छ, वार्ताले एउटा आकार लिन्छ भन्नेमा हामी विश्वस्त छौँ। आज रातभरिमा एउटा सहमतिको विन्दुमा पुग्छौँ, भोलि पार्टीलाई एक भएर अगाडि बढाउँछौँ।”

वार्ता प्रक्रिया चलिरेहका कारण केन्द्रीय समितिको बैठक मंगलबार बस्न नसकेपछि बुधबारका लागि सरेको छ।

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाडौँको भृकुटीमण्डपमा यही पुस २७ गतेदेखि आयोजना गरेको विशेष महाधिवेशनको बन्दसत्रले महामन्त्रीद्वयको प्रतिवेदन पारित गरेको छ। विशेष महाधिवेशनले निर्वाचन कार्यतालिका अनुसार बुधबार निर्वाचन गर्ने उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×