काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आगामी निर्वाचनका उम्मेदवारको टिकटमा कार्यवाहक सभापति पूर्ण बहादुर खड्काको हस्ताक्षर हुने पर्ने अडान अघि सारिएपछि अबेर रातिसम्म भएको वार्ता विना निष्कर्ष टुंगिएको छ ।
संस्थापन र विशेष महाधिवेशन पक्षधर विच मंगलबार दिउँसोदेखि रातिसम्म तीन चरणमा भएको छलफल विना निष्कर्ष टुंगिएको हो ।
छलफलमा सहभागी एक नेताका अनुसार आज रातिको छलफल टुंगोमा पुग्ने सकेन । छलफल जारी राख्ने र भोलि बिहानै छलफल सुरु गर्ने गरी छलफल टुंगिएको छ ।
विशेष महाधिवेशन पक्षधर नेताले महाधिवेशन प्रतिनिधिहरुलाई धेरै दिन काठमाडौँ राख्न नसकिने भन्दै भोलि बिहानसम्मको डेड लाइन दिएको बताइएको छ ।
संस्थापन र विशेष महाधिवेशन पक्षधर नेताहरुको छलफलमा संस्थापन समूहबाट नेताद्वय बालकृष्ण खाण र रमेश लेखक सहभागी थिए । विशेष महाधिवेशन समूहबाट नेताहरु प्रदीप पौडेल, देवराज चालिसे, गुरुराज घिमिरे र मधु आचार्य थिए । त्यस्तै शेखर कोइराला समूहबाट जीवन परियार र मीनेन्द्र रिजाल सहभागी थिए ।
विशेष महाधिवेशनको स्वामित्व लिने, विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदन र कार्यविधिहरु संस्थापन समूहले अध्ययन गरी सुझाव दिने अनि त्यसलाई समेटेर पारित गर्नेलगायतको विषयमा मोटामोटी सहमति भएको छ ।
प्रतिक्रिया