काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवाको स्वास्थ्य सुधारोन्मुख रहेको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाका सूचना अधिकृत सहायक रथी राजाराम बस्नेतले सभापति देउवा र निवर्तमान परराष्ट्रमन्त्री राणाको स्वास्थ्य सुधाराेन्मुख रहेको जानकारी दिएका छन् ।
रथी बस्नेत भन्छन, “देउवा दम्पति हामीसँग सुरक्षित हुनुहुन्छ र दुवै जनाको स्वास्थ्य सुधाराेन्मुख छ ।”
प्रवक्ता बस्नेतले देउवा दम्पतीले आफ्नो आन्तरिक व्यवस्थापनका लागि समय मागेको जानकारी दिए ।उनि भन्छन, “परिस्थिति सबै राम्रो छ । उहाँहरूले हामीसँग आन्तरिक व्यवस्थापनका लागि समय माग्नु भएको छ । व्यवस्थापन भएपछि उहाँहरू यहाँबाट जानुहुन्छ ।”
मङ्गलबार भएको जेनजी प्रदर्शनका क्रममा देउवा दम्पतिमाथि आक्रमण हुँदा उनीहरु घाइते भएका थिए ।
भदौ २४ गते जेनजी आन्दोलनमा प्रदर्शनकारीले उहाँहरुमाथि आक्रमण गरेका थिए । देउवा निवास बूढानीलकण्ठ पुगेका प्रदर्शनकारीले घरमा आगजनी गरेर कुटपिट गर्दै घरबाट निकालेका थिए । प्रदर्शनकारीले कुटपिट गर्न थालेपछि देउवा दम्पतिलाई नेपाली सेनाले सुरक्षित स्थानमा लगेको हो । अहिलेसम्म देउवा दम्पती सेनाको सुरक्षामा उपचाररत छन् ।
प्रतिक्रिया