कक्षा १२ को वार्षिक परीक्षा वैशाख १४ गतेदेखि 

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका आगामी वैशाख १४ गतेदेखि सुरु हुने गरी सार्वजनिक भएको छ ।

बोर्डको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले आज एक सूचना जारी गर्दै वैशाख १४ गतेदेखि कक्षा १२ का साधारण, प्राविधिक तथा परम्परागत धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा सञ्चालन हुने जनाएको हो ।

सूचना अनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । वैशाख १४ गतेदेखि सुरु हुने परीक्षा वैशाख २७ गतेसम्म चल्नेछ ।

विभिन्न सङ्काय र धारअन्तर्गत अनिवार्य तथा ऐच्छिक विषयहरूको परीक्षा तोकिएको मिति र समयमा सञ्चालन गरिने बोर्डले जनाएको छ ।

पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुने छ ।

सोही दिन नयाँ कोर्सको संस्कृत रचना, बौद्ध शिक्षा र उर्दू व्याकरण तथा पुरानो कोर्सको अनिवार्य वैकल्पिक संस्कृत रचनाको पनि परीक्षा हुने तालिकामा उल्लेख छ।

त्यस अघि २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत्र १९ गते बिहीबारबाट सुरु हुने तालिका सार्वजनिक भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×