काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्दै हुनुहुन्छ ।
नेकपाको प्रवासी सङ्गठन नेपाली समाज भारतको आयोजनामा हुने “एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम”लाई सम्बोधन गर्न प्रचण्ड दिल्ली जान लागेको उहाँको सचिवालयले जनाएको छ। कार्यक्रम भोलि (सोमबार) दिउँसो १ बजे लाजपत नगरस्थित लाजपत भवन अडिटोरियममा आयोजना हुने तय भएको छ।
कार्यक्रममा प्रचण्डले नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्ध, प्रवासी नेपालीका समस्या र अवसर, साथै एकता र सहकार्यको महत्वबारे सम्बोधन गर्ने कार्यक्रम छ। नेपाली समाज भारतका अनुसार कार्यक्रमको उद्देश्य भारतमा रहेका नेपालीलाई एकताबद्ध गर्दै आपसी सद्भाव र सामाजिक–राजनीतिक चेतना अभिवृद्धि गर्नु हो।
प्रचण्डले सन्देश सभालाई सम्बोधन गरेपछि भोलि साँझ नै स्वदेश फर्किने कार्यक्रम रहेको छ।
प्रतिक्रिया